शुक्रबार प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने

काठमाडौं: नेपालमा ‘प्रेम गीत ३’ हिन्दी भर्सन शुक्रवार रिलिज नहुने भएको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले प्राविधिक कारणले हिन्दी भर्सन घटस्थापनाको दिनदेखि मात्रै रिलिज हुने बताएका हुन् ।

विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रबारबाट प्रेमगीत ३ हिन्दी भर्सन रिलिज नहुनुको थप कारण पछि जानकारी गराउने बताएका उनले घटस्थापन (१० असोज)देखि प्रेमगीत ३ हिन्दी भर्सन नेपालभर प्रदर्शन हुने बताए ।

चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए । 

सूचनामा भनिएको छ, ‘आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा विभिन्न प्राविधिक कारणले ‘प्रेम गीत ३’ हिन्दी भर्सन १/२ दिन रिलिज गर्न नसक्ने स्थिति सिर्जना गराइयो । वास्तविकता पछि जानकारी गराउने नै छौँ । घटस्थापनाको दिन हिन्दी ‘प्रेम गीत ३’ नेपालभरि प्रदर्शनमा आउने जानकारी गराउँदछौँ । अहिलेको लागि क्षमाप्राथि छौँ ।’

केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए । भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो। प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

[sidebar name="button post"]