शिया धर्मगुरुले राजनीति छोड्ने घोषणा गरेपछि इराकमा भैरहेको प्रदर्शन हिंसात्मक बनेपछि अन्तर्राष्ट्रिय निकायले चासो र चिन्ता व्यक्त गरेका छन् ।
धर्मगुरु मुक्तादा अल–सद्रका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ (ईयू)ले सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् । ईयूले विज्ञप्ति निकालेर सबै पक्षहरूलाई थप हिंसाका घटना हुनबाट रोक्न संयमता अपनाउन आग्रह गरेको अल जजीराले जनाएको छ ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि सबै सम्बन्धित पक्षहरूलाई द्वन्द्वात्मक परिस्थिति कम गर्न र कुनै पनि हिंसा हुन नदिन तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ ।
घटनापछि टर्कीले आफ्ना नागरिकलाई बग्दादको यात्रा नगर्न आग्रह गरेको छ ।
धर्मगुरु सद्रले एक टेलिभिजन सम्बोधनमार्फत आन्दोलनकारीलाई घर फर्कन आदेश दिएपछि अहिले बग्दादको अवस्था केही शान्त भएको छ ।












