युक्रेनका सहयोगी राष्ट्रहरूले रुसले फेरि सघन बनाएको आक्रमणविरुद्धको रक्षात्मक युद्धका लागि थप हतियार सहयोग गर्ने वाचा गरेका छन्।
अमेरिका र अरू साझेदार राष्ट्रले तत्काल थप गोलाबारी, एन्टी-ट्यांक तथा हवाई सुरक्षा सहयोग युक्रेन पठाउने प्रतिवद्धता जनाएका हुन्।
भिडियो कलको क्रममा युक्रेन युद्धलाई लिएर रुसमाथि गम्भीर आर्थिक मूल्य चुकाउने अवस्था सिर्जना गर्नका लागि एकीकृत रूपमा प्रयास गर्नेबारे कुराकानी भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबास क्षेत्रको रक्षात्मक युद्ध सुरु भएको बताउँदै तत्काल हतियारसहितका थप सैन्य सहयोग चाहिने उल्लेख गरेका छन्।
साझेदार देशका नेतासँगको छलफलपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसदलाई सम्बोधन गर्दै युक्रेनमा अबको युद्ध गोलाबारीको हुने बताएको बिबिसीले उल्लेख गरेको छ।
उनले भनेका छन्, ‘युक्रेनलाई तोप, गोलाबारुदसहितको थप सहयोग चाहिएको छ, हामी त्यो सहयोग गर्ने छौँ।’
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेनलाई थप तोप, गोलाबारुदसहितका सहयोग गर्ने बताएका छन् । उनले न्यू ह्याम्पसरमा पत्रकारलाई प्रतिक्रिया दिने क्रममा अमेरिकाले युक्रेनलाई थप हतियार सहयोगको तयारी गरिरहेको जानकारी दिएका हुन्।
यसैगरी जर्मनीले एन्टी-ट्यांक हतियारसहित गोलाबारुद किन्नका लागि वित्तीय सहयोग प्रदान गर्ने तयारी गरेको छ। जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मन कम्पनीबाट हतियार किन्नका लागि सहयोग गर्ने बताएका हुन्।












