३ श्रावण, काठमाण्डौ। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संघीय संसदको अधिवेशन आज सुरु हुँदैछ । बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।
आजको लागि संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र र केही शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले अरु कार्यसूची तय गर्ने सचिवालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
तर मिति भने तय भइसकेको छैन । यस्तै अघिल्लो सरकारले ल्याएका १६ वटा विधेयकलाई प्रक्रियामा लैजाने तयारी पनि भएको छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।












