३ श्रावण, काठमाण्डौ। देशभरको मौसम आइतबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन फेरि सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आज पनि वर्षा जारी छ । अबको तीन दिन नै देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।












