टाइब्रेकरमा स्पेनलाई हराउँदै इटाली युरोकपको फाइनलमा

२३ असार, एजेन्सी। टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार राती भएको खेलमा इटाली टाइब्रेकरमा ४-२ गोलले विजयी भयो। स्पेनको चौथो प्रहार गर्न पुगेका अल्भारो मोराटाले पनि गोल गर्न सकेनन्। त्यसपछि इटालीको पाचौँ प्रहार गरेका जर्गिन्होले गोल गरेपछि स्पेन सेमिफाइनलबाटै बाहिरिएको हो।

यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। ६० औँ मिनेटमा इटालीका स्ट्राइकर चिएसाले डी बक्सबाहिरबाट सेकेण्ड बार च्यापेर गोल गरेका थिए।

स्पेनका अल्भारो मोराटाले ८० औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। मैदानको करिब मध्य भागबाट आफै बल अगाडि बढाउँदै मोराटाले डीबक्स नजिकै ड्यानी ओल्मोलाई पास दिएर त्यसपछि आफुले पास लिँदै गोल गरेका थिए।

इटालीले इङ्ल्यान्ड र डेनमार्कबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

[sidebar name="button post"]