५ असार, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
त्यस्तै दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।











