३१ वैशाख, तुलसीपुर । दाङमा थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना रहेका छन् । सोमध्ये पाँचको संस्थागत आइसोलेशन र एक होम आइसोलेशनमा बसेका सङ्क्रमितको मृत्यु भएको छ ।
सो उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर–७ का ६२ वर्षीय पुरुष र १२ का ६७ वर्षीय पुरुष मृत्यु भएको हो । यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर–८ का ३० वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई सङ्क्रमितको मृत्यु भएको छ । यही वैशाख २४ गतेदेखि अस्पतालमा उपचार गराइरहेका तुलसीपुर–१९ का ४९ वर्षीया महिलाको आज बिहान १ः०० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोण वलीले जानकारी दिनुभयो ।
ओलीका अनुसार तुलसीपुर–९ निवासी २४ वर्षीया महिलाको बिहीबार साँझ पौने ७ः०० बजेतिर मृत्यु भएको छ । यस्तै होम आइसोलेशनमा बसेका घोराही–९ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै वैशाख महिनामा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको केन्द्रले जनाएको छ ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका–२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका–१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।
यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ ।









