दिल्लीमा १८ बर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप लगाइने

१३ वैशाख, नयाँदिल्ली। भारतको दिल्ली प्रदेशमा १८ बर्ष माथिका सबैलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था गर्ने निर्णय भएको सोमबार जानकारी दिनुभयो ।

अहिले बचत रहेको एक करोड ३४ लाख खोप आम सर्वसाधारणलाई लगाउन थालिने उहाँले बताउनुभयो । “दिल्ली सरकारले १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने व्यवस्था गर्ने निर्णय गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँले अहिले भएको खोप सकिएपनि अरु खोप बचत नै रहने गरी व्यवस्था गर्न प्रयास गर्ने आश्वासन पनि दिनुभयो ।सवैलाई निःशुल्क खोपको व्यवस्था गर्ने निर्णय अन्य प्रदेशहरूले भने यसअघि नै गरिसकेका थिए । दिल्ली बाहेक महाराष्ट्र, कर्नाटक, हरियाणा, ओडिसा, झारखण्ड र पश्चिम बङ्गालमा सबैलाई निःशुल्क खोपको व्यवस्था गरिएको हो ।

आम नागरिकले कारोनाको खोप लगाएमा सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या न्युनिकरण हुने मुख्यमन्त्री केजरीवालले विश्वास लिनुभएको छ ।जति धेरै जनालाई खोप लगाउन सकियो, त्यति धेरै महामारीलाई कम गर्न सकिने उहाँको भनाइ छ ।

भारतमा प्राथमिकता निर्धारण गरेर उच्च प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन दिइएको थियो भने सर्वसाधारणलाई अहिले मात्र विभिन्न प्रदेशमा सुरु गरिएको छ ।

केन्द्रीय सरकारले भने आगामी मे १ देखि मात्रै देशभरीका १८ बर्ष माथिका सबैलाई खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेको थियो । भारतमा कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड र कोभ्याक्सिन खोप आँफै उत्पादन गर्दै विक्री वितरण हुँदै आएको छ ।

[sidebar name="button post"]