Ad #144479

२७ चैत्र, काठमाण्डौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष सकिएको छ। सत्ता समीकरणका लागि गठबन्धन बनाउनेबारे छलफल गर्न शुक्रबार अपरान्ह करिब आधा घण्टा देउवा निवास बुढानिलकण्ठमा चलेको बैठक विनानिष्कर्ष सकिएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी थिए। स्रोतका अनुसार बैठकमा जसपाले पार्टीमा छलफल गर्न समय माग गरेको छ । कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने औपचारिक रूपमा आज पहिलोपटक बैठक बसेको हो ।

बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पुगेका छन्। जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए।