कांग्रेस लोकतन्त्रको रक्षाको लागि तठस्थ भएर बस्न नसक्ने : नेता पौडेल

१३ चैत्र, काठमाण्डौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई षडयन्त्रबाट जोगाउनु नेपाली कांग्रेसको धर्म रहेको बताएका छन् । शुक्रबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै वरिष्ठ नेता पौडेलले सरकार विरुद्ध अविश्वासको प्रस्तावका लागि विपक्षी दलहरु एकजुट हुनुपर्ने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले वर्तमान प्रणालीमाथि विभिन्न तहबाट आक्रमण भइरहेकाले यसको संरक्षणका लागि पनि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन् । उनले वर्तमान सरकारको विस्थापनका लागि बृहत प्रजातान्त्रिक गठबन्धन आवश्यक भएको बताए । उनले कांग्रेस लोकतन्त्रको रक्षाको लागि तठस्थ भएर बस्न नसक्ने धारणा राखे ।

सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा वरिष्ठ नेता पौडेलले विपक्षी पार्टीहरु बीच सहमति भएपछि अविश्वासको प्रस्ताव अगाडि बढ्न सक्ने बताउदै वर्तमान सरकार विस्थापनका लागि जो सुकैको नेतृत्वमा जान सकिने धारणा राखे ।

पार्टी सभापतिमा उम्मेदवारी दिने बारे सोधिएको प्रश्नमा नेता पौडेलले भदौमा हुने महाधिवेशनका लागि अहिलेनै हत्तारिनु पर्ने बेला नआएको बताएका छन् । नेता पौडेल अशोक कोइरालाको श्रद्धान्जली सभामा सामेल हुन विराटनगर पुगेका हुन् ।

[sidebar name="button post"]