कोरोना संक्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ : प्रधानमन्त्री ओली

११ चैत्र, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँले भन्नुभयो, “कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ ।” यद्यपि अहिले भयावहको स्थिति नभएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको भन्दै पूर्ण नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोजेको जस्तो देखिन्छ, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ ।”

उहाँले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको उल्लेख गर्दै फेरि पनि असर कम पर्ने बताउनुभयो । “हामीकहाँ यसको असर कम प¥यो । फेरि पनि कम पर्छ र बाहिर, अन्यत्रजस्तो यसलाई हामी सङ्क्रमित हुन दिँदैनौँ र दिनु पनि हुँदैन । यसका लागि विभिन्न तरिका अवलम्बन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले नियम र आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सिसिएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ ।”

प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको बताउनुभयो ।

[sidebar name="button post"]