२६ फागुन, बर्दिया । मधुवन नगरपालिका—३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न गएकी मधुवन—३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनारलाई दिउँसो करिब १ बजेर ५० मिनेटमा बाघले झम्टेर लगेको प्रहरीले जनाएको छ ।
नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको हो । सुनारसहित ६ जना घाँस काट्न जंगलमा पुगेका थिए ।
बाघले सुनारलाई आक्रमण गरेपछि ज्यान जोगाएर सशस्त्र प्रहरी बललाई जानकारी गराएका थिए । उनको शव दशगजामा फेला परेको छ ।सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव उठाएर पोस्टमार्टमका लागि गुलरिया पठाउने तयारी छ ।












