Ad #144479

२३ फागुन, काठमाण्डौ। सर्वाेच्च अदालतको आदेशले पुनस्थापित प्रतिनिधिसभाको बैठक आज अपरान्ह् ४ बजे बस्दैछ । बैठकका अजेण्डा र कार्यसूचीबारे संसद सचिवालयले अहिलेसम्म तयारी गरेको छैन् । पुष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै संसद सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको औचित्यबारे बहस हुन थालेको छ ।

सर्वाेच्चले विघटनदेखि पुनस्थापनासम्मको दिनलाई शून्य समय मानेकाले पनि उक्त अविश्वास प्रस्तावको औचित्यबारे प्रश्न उठेको थियो । साथै, अब संसदमा प्रचण्ड–माधव समूहको हैसियत के रहने र कुन बेञ्चमा बस्ने भन्ने विषय समेत पेचिलो बनेको छ । यसै सम्बन्धमा आज उक्त समूहका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् ।

भेटमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, देव गुरुङ , कृष्णभक्त पोखरेललगायतका नेताहरु सहभागी थिए ।सभामुख सापकोटाले प्रचण्ड–माधव समूहलाई निर्वाचन आयोगले आधिकारिकता नदिएकाले दल घोषणा गर्न कानूनी अड्चन रहेको भनेका थिए ।

तर प्रतिपक्षीय भूमिका निर्वाह गर्ने वातावरण भने सिर्जना गर्ने आश्वासन सभामुखले दिएका छन् । आजको बैठकमा सभामुखले खेल्ने भूमिकालाई हेरेर मात्रै ओली समूहले आफ्नो रणनीति बनाउने भएको छ ।