नारेश्वर ताल निर्माणका लागि जग्गा अधिग्रहण गरिएका उपभोक्ताहरुलाई एक करोड मुआब्जा वितरण

१८ फागुन, तनहुँ। व्यास नगरपालिका–१० मा निर्माण गर्न लागिएको नारेश्वर तालका लागि जग्गा अधिग्रहण गरिएका उपभोक्ताहरुलाई नगरपालिकाले रु एक करोड ३७ लाख ६० हजार ५०५ मुआब्जा वितरण गरेको छ ।

नगरपालिकाले ताल निर्माणका लागि करीब २५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । गत वर्ष र यस वर्ष गरी २० जनालाई रु एक करोड ३७ लाख ६० हजार ५०५ वितरण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

बढी मुआब्जा पाउनेमा रु १० लाखसम्म रहेको उहाँले बताउनुभयो । उपभोक्ताको २५ र ऐलेनी जग्गा करीब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न लागिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड १५ लाख बजेट विनियोजन गरिसकेको बताइएको छ ।

देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो टुरिजम क्षेत्र बनाउन लागेको हो । पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूलै फूलको बगैँचा बनाउने योजनाअनुरुप काम भइरहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

“सो स्थानमा अहिले सार्वजनिक शौचालय र ट्रष्ट निर्माण गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “उक्त स्थानबाट सिधै फुड ट्र्याक बनाएर खहरेस्थित छाङ्ग बाराही मन्दिर जोड्ने लक्ष्य रहेको छ ।”

४० फिट अग्लो उचाइको भ्यू टावर निर्माणका लागि डिपिआर तयार भइसकेको उल्लेख गर्दै वडाध्यक्ष सापकोटाले सो टावर निर्माणका लागि नगरपालिकाले रु १५ लाख बजेट समेत विनियोजन गरिसकेको जानकारी दिनुभयो ।

व्यासमार्ग हुँदै पर्यटकहरु छाङ्ग बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृश्य अवलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा होमस्टेमा पुगेर बास बस्ने व्यवस्था मिलाइने व्यवस्था गर्न लागिएको बताइएको छ ।

भ्यू टावरबाट जिल्लाको अधिकांश भाग देख्न सकिन्छ । पहाडकी रानी नामले परिचित बन्दिपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ ।

नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हुँदै पृथ्वीराजमार्गमा पुगेर पर्यटकहरु गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्र्याक बनाउने कालिका जङ्गलमा रिसोर्ट निर्माण गर्नेलगायत संरचना निर्माण गरिनेछ । “ताल निर्माणको प्रक्रिया बल्ल सकिएको छ”, उहाँले भन्नुभयो ।

[sidebar name="button post"]