१४ फागुन, एजेन्सी। विश्वचर्चित अमेरिकी गायिका लेडी गागाका दुइटा कुकुर चोरी भएका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार स्थानीय समयअनुसार बुधबार राति कुकुरहरूलाई डुलाउन हिँडेका व्यक्तिलाई गोली हानेर एक जना पुरूषले ती कुकुरहरूलाई लिएर गएका छन्।
लसएन्जलस प्रहरीले ती पुरूषले अर्धस्वचालित ह्यान्डगनले हानेर कुकुर डुलाइरहेका र्यान फिस्चरलाई घाइते बनाएका थिए। त्यसपछि उनले कोजी र गुस्तभ नामका दुई फ्रेन्च बुलडगलाई लिएर गएका थिए। र्यानले डुलाउन लिएको मिस एसिया नामको अर्को कुकुर भने चोरको पञ्जाबाट उम्कन सफल भएको थियो।
गोली लागेका र्यानलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ। गागा हाल कामको शिलशिलामा इटालीको रोममा छन्। उनले आफ्ना चोरिएका कुकुरहरूलाई फिर्ता ल्याउने मान्छेलाई ५ लाख अमेरिकी डलर इनाम दिने बताएकी छन्।












