सरकारले गर्यो १६ सचिवको सरुवा, गृहसचिवको राेकियाे

४ फागुन, काठमाडौं । मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले १६ जना सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवाको निर्णयमा सोमबार मात्र हस्ताक्षर भएर केही सचिवले चिठ्ठी पनि बुझिसकेका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको सरुवा हुने हल्ला चलेपनि उनको सरुवा अचानक रोकिएको छ । गृहमा सामान्य प्रशासनका सचिव एकनारायण अर्यालको सरुवा हुने चर्चा चलेको थियो ।

मन्त्रालयका अनुसार वाणिज्य सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा थन्काइएको छ । वाणिज्य सचिवमा प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई ल्याइएको छ । उनी सहसचिव हुँदा उद्योग मन्त्रालयमा कार्यरत थिए । सचिव सुमन अर्याललाई प्रदेश १ का प्रमुख सचिवमा सरुवा गरिएको छ। अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त सचिव थिए ।

त्यस्तै उद्योग मन्त्रालयको सचिवमा अर्जुन पोखरेल आएका छन् । उनी लोक सेवा आयोगका सचिव थिए । सहसचिवमा रहँदा पोखरेलले अर्थमन्त्रालय अन्तर्गत रहेर समेत कामगरेका थिए । लोक सेवाआयोगमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र गुरागाइँलाई ल्याइएको छ।

वित्त आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमि मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरकारले सरुवा गरिएको छ । सार्वजनिक खरिद कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा तोयम राया सरुवा भएका छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए । अख्तियारका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोग सरुवा भएको छ ।

उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपाने युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । उपराष्ट्रपति कार्यालयमा निर्वाचन आयोगबाट देवकुमारी गुरागाइँ सरुवा भएकी छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्य नेपाल ट्रस्टको कार्यालयमा सरुवा भएको छ ।

प्राधिकरणमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाल गएका छन् । नेपाल ट्रस्टका सचिव देवेन्द्र कार्कीको सतर्कता केन्द्रमा सरुवा भएको छ । सरकारले शिक्षा मन्त्रालयमा युवा तथा खेलकुदका सचिव रामप्रसाद थपलियालाई ल्याएको छ भने शिक्षा सचिव गोपीनाथ मैनाली वित्त आयोगमा सरुवा भएका छन् ।

[sidebar name="button post"]