कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

पछिल्लो २४ घण्टामा कति थपिए संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ।

विघटनविरुद्धको रिटमा निवेदककर्ताले प्रश्न उठाए

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्ने वकिलहरुको जिकिरमाथि रिट निवेदककर्ताले प्रश्न उठाएका छन् । रिट निवेदकतर्फको जवाफी बहसका क्रममा अधिवक्ता कञ्चनकृष्ण न्यौपानलेले प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने वकिलले ओलीलाई ‘श्री ३ को जत्तिकै अधिकार’ रहेको जिकिर गरेपनि त्यस्तो व्यवस्था संविधानमा देखाउन चुनौति दिए ।

भूकम्पपछि पुनःनिर्मित सिंहदरबार सोमबार उद्घाटन हुँदै

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ । पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर सोमबार उद्घाटनको तयारी भएको छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई ‘भवन’ का आयोजना निर्देशक श्यामकिशोर सिंहले राससलाई जानकारी दिनुभयो ।

ओली तानाशाह बन्न खोजे : नेपाल

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्राधनमन्त्री केपी ओलीको चर्को आलोचना गर्दै उनले तानाशाह बन्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ यो सबैको मुटु छामेको हो । रामकुमारीलाई पहिले समात्ने, अनि माधवकुमार नेपाल र पुष्पकमललाई गिरफ्तार गर्ने योजना रहेछ ।’

निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड लिन पाइने

निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न दिने गरी आचारसंहिता निर्माण गरेको छ।आयोगले अन्तिम रुप दिएको आचारसंहितामा निर्वाचन प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्डको सुविधा लिन पाइने ब्यबस्था गरेको हो।

आज प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदै

आज १४ फेब्रुअरी, प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ ।

बस्नेतविरुद्ध सपनाको उजुरी

अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले १०० प्रभावशाली महिलाको सूचिमा पारेकी नेपाली चेली सपना रोक्का मगरले विनयजंग बस्नेत विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।  बस्नेतले आफ्नो मानमर्दन र बेइज्जती गर्ने अभिप्रायले धम्क्याएको भन्दै मगरले काठमाडौं प्रहरी प्रभाग टेकूमा उजुरी दिएकी हुन् ।

माधवनारायणका बर्तालु पनौतीमा पुगे

पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका बर्तालु माधवनारायण भगवान्सहित काभे्रपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौती पुगेका छन् । प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका बर्तालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शाली नदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे छ । दिउँसो पनौती हिँडेका बर्तालु भक्तपुर हुँदै काभ्रेपलाञ्चोकको पनौती पुगेका हुन् । माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो ।

विकासमा पछि परेको माईपोखरी, जहाँ वार्षिक हजारौँ धर्मावलम्बी र पर्यटक पुग्छन

प्रदेश नं १ को प्रमुख पर्यटकीय र धार्मिक क्षेत्र हो माईपोखरी । यहाँ घुमघाम र पूजापाठका लागि वार्षिक हजारौँ धर्मावलम्बी र पर्यटक पुग्छन् । आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण भने कैयौँ सम्भावना भए पनि यो क्षेत्र छायाँमा परेको महसुस भएको छ ।

अण्डा नियमित खानाले विभिन्न रोगबाट मृत्यु हुने जोखिम बढी

अण्डाको नियमित उपभोगले मृत्युको जोखिम बढाउने एक अध्ययनले देखाएको छ । मंगलबार पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित अध्ययनका अनुसार अण्डा नियमित खानाले विभिन्न रोगबाट मृत्यु हुने जोखिम बढी भएको देखिएको हो ।

कांग्रेसले भोलि विरोधसभालाई प्रभावकारी बनाउने

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान मिचेको निश्कर्षसहित आन्दोलनमा रहेको नेपाली कांग्रेसले भोलि हुने विरोधसभालाई प्रभावकारी बनाउने भएको छ । यस प्रयोजनका लागि भोलि हुने विरोध सभामा सक्रिय सहभागितका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् ।

प्रचण्ड–माधव समूहद्धारा चौथो चरणको आन्दोलन घोषणा

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनरत  नेकपा प्रचण्ड–माधव समूहले आज चौथो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार,फागुन ५ देखि १२ गतेसम्म प्रत्येक प्रदेश कमिटीको आयोजनामा जिल्लास्तरीय विरोध प्रदर्शन,सभालगायतका कार्यक्रम गरिने छ ।

दलको आधिकारिकता विवाद टुंगो नलागेसम्म निर्वाचन हुँदैन : पोखरेल

नेकपा प्रचण्ड–माधव समूहका नेता लीलामणि पोखरेलले आफ्नो दलको आधिकारिकता विवाद टुंगो नलागेसम्म निर्वाचन हुन नसक्ने धारणा राखेका छन् । निर्वाचन आयोगले आज राजनीतिक दलहरुलाई बोलाएर आचार संहिताबारे छलफल गर्न खोज्दा नेता पोखरेलले यस्तो धारणा राखेका थिए ।

पहिलो चरणको कोरोनाविरुद्धको दोस्रो खोप अभियान आजदेखि

सरकारले पहिलो चरणको दोस्रो अभियानअन्तर्गत आजदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप वितरण गर्दैछ ।दोस्रो अभियान अन्तर्गत आजदेखि ८ गतेसम्म देशका ७७ जिल्लाका सरकारी संस्थान, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई  खोप दिइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले बताउनुभयो ।

प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा निकै कम उत्पादन

पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिकरूपमा फूलको खेती गर्ने किसान छन् तर बजारको माग पूरा गर्न सकेका छैनन् ।

दुई करोड हिनामिनाको आरोपममा प्राविधिक सहायक ९० दिन निलम्बनमा

हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक ‘अधिकृत छैटौँ’ रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गर्नुभएको छ । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ ।

रक्षाको मूलभूत प्रगति, संस्थागत सुधारतर्फ

मुलुकको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी कार्यान्वयन अघि बढाइरहेको रक्षा मन्त्रालयले परिवर्तित राजनीतिक परिदृश्यसँगै नेतृत्वदायी र समन्वयकारी भूमिकालाई गतिशील र सुदृढ तुल्याउँदै अघि बढेको छ । सोही क्रममा पछिल्ला तीन वर्षमा मन्त्रालयले नीतिगत, संस्थागत र भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको मन्त्राययका सचिव रेश्मीराज पाण्डेले जानकारी दिनुभयो ।

हिउँ पग्लिन नपाउँदै फेरि बल्यो मनाङको जङ्गलमा आगो

हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताउनुभयो । मानव बस्तीभन्दा दुई घण्टा टाढाको दूरीमा आगलागी भएको उहाँको भनाइ छ । आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त टोलीले आगो निभाउने गरिरहेको छ ।

ट्रम्पविरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फेरि पनि असफल

अमेरिकी कांग्रेस अर्थात संसद भवन अगाडि हिंसा मच्चाएर पाँच जनाको ज्यान लिनुमा जिम्मेवार रहेको आरोप लगाउँदै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फेरि पनि असफल भएको छ । अमेरिकी माथिल्लो सदन अर्थात सिनेटमा शनिबार राती भएको मतदानबाट महाअभियोग प्रस्ताव पारित हुन सकेन । ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने पक्षमा ५७ भोट परेको थियो । महाअभियोग प्रस्ताव पारित गर्नका लागि ६७ मत आवश्यक हुन्छ ।

भ्यालेन्टाइन डेमा आन्तरिक पर्यटकले भरिभराउ सौराहा

पर्यटकीय नगरी सौराहा प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो । रेष्टुरेन्ट एण्ड बार एसोशिएसन ‘रेबान’ सौराहाले यही अवसरमा खाद्य महोत्सवको समेत आयोजना गरेको छ । रेबानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्मको ६०० मिटर सडक किनारमा विभिन्न परिकारका कक्ष राखिएका छन् । दुईदिने महोत्सव आजसम्म जारी रहनेछ । महोत्सवका अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन् ।

भुत भए नभएको थाहा पाउने नयाँ तरिका

हामी सबैलाई काल्पनिक कुराहरुले एक प्रकारको डर उत्पन्न गराउँछ। राति एक्लै हुँदा तर्सिनुलाई सामान्य मानिन्छ। सबैलाई डर लाग्छ। के तपाई राती कतै एक्लै हुँदा तर्सिनु भएको छ ? के आएको जस्तो, के छ जस्तो भएको छ ? हिड्दै गर्दा केहि कुरासंग ठोकिएजस्तो लाग्ने, कसैले पछ्याय जस्तो लाग्ने, झ्याप्प नजिकै केहि बस्तु आए जै हुने, राती सुतेकै ठाँउमा कसैले समातेको जस्तो हुने, कालो आकृतिहरु भित्तामा देखिने आदी तपाईले पनि भोग्दै आउनु भएको होला। हामी प्राय सबै काल्पनिक घटनालाई महसुस गर्ने गर्छौ जसकारण हामीमा डर पैदा हुन्छ र हाम्रो दिमागमा विभिन्न काल्पनिक कुराहरु खेल्ने गर्दछन्।

[sidebar name="button post"]