अण्डा नियमित खानाले विभिन्न रोगबाट मृत्यु हुने जोखिम बढी

अण्डाको नियमित उपभोगले मृत्युको जोखिम बढाउने एक अध्ययनले देखाएको छ । मंगलबार पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित अध्ययनका अनुसार अण्डा नियमित खानाले विभिन्न रोगबाट मृत्यु हुने जोखिम बढी भएको देखिएको हो ।

अमेरिकाका ५० देखि ७१ वर्ष उमेर समूहका ५ लाख २१ हजार १२० मानिसमा गरिएको अध्ययनले यस्तो देखाएको हो । जसमध्ये ४१.२ प्रतिशत महिला रहेका थिए ।

मृत्यु हुनेमा अधिकांश कोलेस्टोरेल ‘मुटुरोगसँग जोडिएको’ समस्या देखिएको अध्ययनमा उल्लेख छ । १६ वर्षसम्म गरिएको अध्ययनमा १ लाख २९ हजार ३२८ को मृत्यु भएको थियो । जसमध्ये मुटु र क्यान्सरसँग सम्बन्धित ३८ हजार ७४७ को मृत्यु भएको देखिएको छ ।

लामो समयसम्म हरेक दिन आधा वा सिंगो अण्डा खानेमा यस्तो देखिएको हो । अध्ययनअनुसार यस्तो किसिमको मृत्यु हुने जोखिम ७ प्रतिशतले वृद्धि भएको छ । तर विज्ञहरूले भने अध्ययनमा संशय व्यक्त गरेका छन् । उनीहरूले अध्ययन त्रुटिपूर्ण रहेको बताएका छन् ।

हार्वड टीएच चान स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक डा। वाल्टर विलेटले अध्ययनमा कुनै एक समय मात्र अध्ययनमा सामेल गरिएका व्यक्तिको पोषणबारे सोधिएकाले अध्ययन त्रुटिपूर्ण रहेको बताउनुभएको छ । ‘उनीहरूले कुनै एक समय सोधेर लामो समयसम्म त निगरानी गरे’, उहाँले भन्नुभयो, ‘तर उनीहरूको पोषण व्यवहारमा कुनै परिवर्तन पो भएको थियो कि त्यसमा ध्यान अध्ययनकर्ताले ध्यान दिएनन् ।’

युनिभर्सिटी कलेज लन्डनमा मुटुरोग विशेषज्ञ परामर्शदाता रहनुभएका डा। रियाज पटेलले अध्ययनले निष्कर्ष नदिई बहस गराउने वातावरण मात्र सिर्जना गरेको बताउनुभयो । ‘लामो समयदेखि यसबारे अध्ययन भइरहेको थियो । अण्डाले राम्रो नराम्रो गर्ने दुबै किसिमका नतिजा आइरहेका थिए’, उहाँले भन्नुभयो, ‘अध्ययनले थप बहस गर्ने चाहिँ गराएको छ ।’