२६ माघ, काठमाडौं । राजनीतिक संक्रमणको बिचमा जनता समाजवादी पार्टी नेपालका दुई नेता दिल्ली उडेका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव सोमबार दिल्ली राजनीतिक संक्रमणका बिच किन उडे जसपाका नेताहरु दिल्ली उडेका हुन् ।
अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेका छन् भने कार्यकारिणी सदस्य राजकिशोर यादव काठमाडौंबाट सिधै दिल्ली उडेका छन् । उनीहरु दिल्ली जानुलाई निकै महत्वका साथ हेरिएको छ । तर दुई नेताहरु राजनीति नभएर व्यक्तिगत तथा परिवारिक कामले दिल्ली उडेका उनीहरु निकट नेताहरुले बताएका छन् । अध्यक्ष ठाकुर नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएको बताएको छ भने कार्यकारिणी सदस्य यादवको पनि व्यक्तिगत भ्रमण रहेको बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभिन्न पक्षले आन्दोलन गरिरहेका छन् । राजनीतिमा छिमेकी देशको हस्तक्षेप रहेको भन्ने पटक पटक आरोपहरु लागिरहदा वर्तमान राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरु नजिकबाट नियालिरहेका छन् । त्यसो त संसद विघटन पश्चात छिमेकी देशहरुको विभिन्न खाले भ्रमणहरु पनि भईरहेका छन् ।
संसद विघटन पछि जसपा नेपाल पनि चुनाव कि पुनःस्थापना भन्नेमा दुई धार देखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले संसद पुर्नस्थापना कुनै पनि हालतमा हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् भने अध्यक्ष ठाकुर पक्षधर नेताहरुले संसद पुर्नस्थापनाले मात्र समस्या समाधान नहुने भएकाले चुनावको तयारी पनि गर्नुपर्ने भन्दै आईरहेका छन् ।












