साहित्यकार एवं टेलिभिजन प्रस्तोता सुधीर ख्वबि : अबको सोख ‘चारैतिरबाट किताबले घेरिएर बस्न मन छ’

समिता श्रेष्ठ

सुधीर ख्वबि नेपाल भाषाका साहित्यकार एवं अरु धेरै विद्यामा सकृय हुनुहुन्छ । व्यवसायीक रुपमा फर्निचरको काम भएपनि उहाँ अरु धेरै पेशामा आवद्ध हुनुहुन्छ । टेलिभिजन कार्यक्रम प्रस्तोता, नेपालभाषाका साहित्यकार सुधीर ख्वबि साहित्यिक किताबमा घोत्लिएर बस्न बढी रुचाउनुहुन्छ । बाल्यकालमा पढाईमा खासै रुची नराख्ने उहाँ अहिले साहित्य साधनामा तल्लिन हुनुहुन्छ ।

जन्म तथा पारिवारीक अवस्था

सुधीर ख्वबिको जन्म २०१६ साल पुस ५ गते काठमाण्डौ उपत्यकाभित्रको जिल्ला ललितपुरमा भएको हो । ललितपुरको इखालखु तलाछें – १९ मा जन्मेका उहाँको परिवारमा अहिले श्रीमती, दुई छोरा र एक छोरी गरि ५ जना हुनुहुन्छ । उहाँले आईकम सम्मको अध्ययन गर्नुभएको छ ।

आफ्नो पारिवारीक वातावरणबारे ख्वबि भन्नुहुन्छ,‘मेरो जन्म चार दिदीहरुपछि भएको हो । मेरो परिवार डेरामा बस्थ्यो । मेरो बाबा एक्लैको कमाईले घरखर्च चल्थ्यो । बाबा सिकर्मी काम गर्नुहुन्थ्यो । बाबाले दिउँसो नेपाल चर्खा प्रचारक गान्धी महागुठीमा बिहान र छुट्टीमा घरमा काम गर्नुहुन्थ्यो । मलाई सम्झना भए अनुसार बाबाको काममा म १०/१२ वर्षको उमेरदेखि नै सघाउने गर्थे ।’

सुधीर ख्वबिले बाबालाई आरा चिर्ने, काठमा रन्दा लगाउने लगायत काममा सधाउने गर्नुहुन्थ्यो । उहाँसँगै दिदीहरु र आमाले पनि बुवालाई काममा सघाउनु हुन्थ्यो । पढाईमा भन्दा पुर्ख्यौली काममा रुची भएका कारण उहाँसँगै परिवार नै काममा बढी केन्द्रित भयो । ‘स्नातकसम्म पढ्ने धोको नै थिएन । पढेर के गर्नु जस्तो लाग्थ्यो । त्यसबेला शर्ट हाण्ड र टाइपिङ सिक्नु हरेक विद्यार्थीको लागि अनिवार्य जस्तो थियो । तर मैले सिक्न जरुरी नै ठानिन । तर अचेल म सोंच्छु । निरन्तर सिकाइ नै जिन्दगी हो ।’ उहाँ भन्नुहुन्छ,‘त्यस कारण अहिले म प्रविधिलाई पछ्याइरहन्छु ।’

नेपाल भाषाको साहित्यमा यात्रा

नेपाल सम्बत १०९८ मा मलः पत्रिकामा पहिलो कविता प्रकाशन भयो । यहि कविताबाट सुधीर ख्वबीको नेपाल भाषामा साहित्यीक यात्रा शुरु भयो । तर यो भन्दा पहिला कविताको नाममा नेपालीमा मुक्तक लेख्ने गर्नुहुन्थ्यो । त्यसबेला नयाँ सन्देश भन्ने पत्रिकामा छापिएर आउँथ्यो । केही समय न्हूगु विश्वभूमी दैनिकमा स्तम्भकार र संवाददाता भएर पनि उहाँले काम गर्नुभयो । तर त्यो सोंख मात्र थियो । उहाँ पछिल्लो समय टेलिभिजन प्रस्तोता हुनुहुन्छ ।

‘म खाली भएर बस्नै सक्दिन । त्यसैले अनेक क्षेत्रमा आफ्नो सकृयता जनाउँछु ।’ उहाँ भन्नुहुन्छ,‘ जानीनजानी आफूलाई परिष्कृत गर्ने मनसायले अगाडि बढेको छु । म साहित्यमा लाग्नुको पछाडी एउटा रोचक घटना छ । एसएलसी पछिको समयमा केही साथीहरुको संगतले उच्छृङखल क्रियाकलापमा अल्झिन पुगे । त्यो समयमा आफ्नो गाउँघर र टोलतिर ग्याङ्ग फाइट, मुक्कामुकी, झैं–झगडामा अल्झिए । एकदिन एउटा यस्तो घटना घट्यो कि जुन घटनाले मलाई साहित्यतिर पुर्याइदियो ।’

जानी नजानी कविता लेख्न सुरु

एकदिन कीर्तिपुर पांगाको साथी मलाई खोज्दै आउनु भयो र मसँग सहयोग माग्नु भयो । के कुराको सहयोग भन्दा साथीलाई एकजना मान्छेलाई ठीक पार्नु थियो र त्यो कामको लागि मेरो सहयोग खोजेको रहेछ । उसको कुरा सुनेर म झसंग भए । मेरो व्यक्तित्वले कसरी एउटा नकारात्मक स्वरुप लिइसकेको रहेछ । मैले त्यो काम गर्न अस्वीकार गरें । साथी रिसाएर गयो । त्यस पछि मैले ती साथीहरुको संगत चटक्कै छोडे र जानी नजानी कविता लेख्न शुरु गरे । त्यो समयमा के के लेखे कति लेखे कति च्याते थाहै भएन ।

यो क्षेत्रमा शुरुवाती दिनमा त स्वतस्फूर्त आए जस्तो लाग्छ । मलाई यो नेपाल भाषामा लेख्न प्रेरित गर्ने जुलुमलाल चित्रकार र डा. पुष्पराज राजकर्णिकार हुनुहुन्छ । उहाँहरुको प्रेरणा र हौसलाको अहंम भूमिकाले आजको सुधीर ख्वबिको जन्म भएको हो जस्तो लाग्छ ।

साहित्य अनुभुतीको विधा

यो साहित्यको लागि संघर्ष गर्नुपरेको जस्तो लाग्दैन । तर तत्कालिन पंचायती व्यवस्थाको एक भाषा एक राष्ट्र नीतिको बिरुद्धमा संघर्ष गर्नुपरेको हो । त्यो बेला साहित्य कै कारण धरपकडमा पर्ने, लेख रचनामा सेन्सर भोग्नुपर्ने अवस्था थियो । कविताले मेरो मन मस्तिष्कलाई सजिलै आनन्दित पार्छ ।

त्यसैले मेरो लागि कविता प्रिय छ । नेपाल भाषामा चक्रव्यूह पित्याःमिखा नतुचाय् तियातःगु वर्तमान र जः कविता सँचयन मार्फत आफूलाई अभिव्यक्त गर्न समयले माया गरेको छ । त्यस्तै न्हूगु वसन्त कथा संग्रह । पलाः पलाखय् गजल संग्रह हायावंगु हः हाइकु संग्रह र छथ्वः स्वां हाइकु संग्रह नेपालभाषा र नेपालीमा पाठक माझ पस्किसकेको छु ।

यो साहित्य विधा अनुभूतिको विधा हो । त्यसैले कसैले लेख्न सिक्छु भन्दैमा सिकिने विषय होइन जस्तो लाग्छ । पर्याप्त अध्ययनले केही लेख्न प्रेरित गरिरहेको हुन्छ र लेखिन्छ । त्यसैले नयाँ पुस्ताले साहित्य लेख्न शुरु गर्नु अघि सम्बन्धित विधाको अध्ययन गर्नु आवश्यक छ । लेखनमा साधना गरेर लेख्ने हो भने यो क्षेत्रमा आफ्नो उपस्थिती दरिलो हुन्छ ।

सुधीर ख्वबीका प्रकाशित कृतिहरु
१. चक्रव्यूह        (कविता सङ्ग्रह)
२. पित्याः मिखा  (कविता सङ्ग्रह)
३. न्हूगु वसन्त   (कथा सङ्ग्रह)
४. पलाः पलखय्  (गजल सङ्ग्रह)
५. नतूचाय् तियातःगु वर्तमान (कविता)
६. जः   (कविता सङ्ग्रह नेपालसंवत)
७. हायावंगु हः (हाइकु सङ्ग्रह)
८. छ्थ्वः हाइकु (हाइकु सङ्ग्रह (दुई भाषामा) आदि हुन् ।

पुरस्कार र सम्मानहरु

बिभिन्न साहित्य सम्मेलनहरुमा प्रथम र द्दितीय पुरस्कारहरू
न्हूगु विश्वभूमि पुरस्कार (नेपाल संवत १११३)
उत्कृस्ट लेखक पुरस्कार (पलिस्था प्रहशन प्रतियोगिता नेपाल संवत १११५ )
वर्ष मानव पुरस्कार (नेपाल भाषा मंका खलः नेपाल संवत ११२५)
लुमिन पुरस्कार (नेपाल संवत ११३४)
सूचक सम्मान (बि सं २०७१)
मेनुका सम्मान (नेपाल मण्डल साहित्य प्रतिष्ठान (२०७५) लगायत ।

त्यस्तै नेपाल भाषाका बिभिन्न पत्रपत्रिका लगायत जनमत, नव कविता, कान्तिपुर, समाचारपत्र, नागरिक, पुनर्जागरणमा फुटकर रचना पाँच सय भन्दा बढी प्रकाशित छन्।

पलिस्था ख्यालः कासामा प्रहशन लेखन
लेखन सल्लाहाकार (चलचित्र सर्गः मिला)
आजीवन सदश्य : नेपाल भाषा मंकाः खलः आदि ।

काम र आउँदा योजना

संरक्षक : जनमत मासिक
निवर्तमान अध्यक्ष : व्यवस्थापन समिति सिद्धार्थ माध्यमिक विद्यालय, सुनाकोठी
अध्यक्ष : तलाछेँ टोल सुधार समिति
सचिव : तलाछें जेष्ठ नागरिक समूह
सह सचिव : भिमसेन पूजा परिक्रमा व्यवस्थापन समिति
सदस्य : १९ वडा विपत व्यवस्थापन कमिटी
संचालक : त्रिपूरा बचत तथा ऋृण सहकारी संस्था, कुलेश्वर
सम्पादन : स्वनिगः वार्षिक पत्रिका (संयुक्त)

यस बाहेक गरेका कामहरु

अभियन्ता : सः छगू फरक अभिव्यक्तिया
कार्यक्रम प्रस्तोता:नेवाः टिभी एच डि र लहना टेलिभिजन
स्तम्भ लेखन : न्हूगु विश्वभूमि र दि भ्वाईस ( नेपाली साप्ताहिक )
कोलाज स्तम्भ : नेपाः सः साप्ताहिक
साहित्य पृष्ठ संयोजक : लहना साप्ताहिक
प्रणय, लसकुस, बांलाम्ह मयेजु र अप्सरा र बेस्ट अफ प्रवेशमान शाक्य र सांगीतिक संग्रहमा गीतहरु समाबेश भएको । उहाँ अहिले नेपाली भाषामा सकृय लेखन सामाजिक संजालमा हाइकु कविता लेखमा सक्रिय हुनुहुन्छ ।

पुस्तैनी व्यवसायसँगै साहित्यले दिएको खुसी

पेशागत रुपमा उहाँ फर्निचरको पुस्तैनी व्यवसायमा व्यस्त हुनुहुन्छ । भाषा साहित्यप्रतिको अनुराग र मायाको कारण समय व्यवस्थापन गरेर उपस्थिती जनाउने गरेको उहाँ बताउनुहुन्छ । ‘केही साथीहरु फर्निचर र साहित्यको बिच अन्तरसम्बन्धमा चासो राख्नुहुन्छ । यो कुरा सुन्दा अचम्म लाग्छ । पछिल्लो समयमा आएर सामाजिक संजालमा नेपाली भाषामा लेख्न थालेको छु ।

कविता गजल हाइकु तथा लघुकथाहरु । पोखरामा हुने साहित्यिक कार्यक्रममा सन्ध्या नायकको रुपमा नेपाली कविता वाचन गर्ने अवसर पाएको छु । नेपाली साहित्यीक पत्र पत्रिकाहरुमा आफ्नो उपस्थिति जनाउने अवसर पाइरहेको छु । शारदा, मधुपर्क, गरिमा, कान्तिपुर, नागरिक इत्यादीहरुमा । जुन मेरो लागी खुसिको कुरा हो ।’

उहाँ भन्नुहुन्छ,‘सामान्य रुपमा जीवन चलेको छ । मेरो ठूला ठूला महत्वाकांक्षाहरुको सूची छैनन् । साना साना कुरामा खुसी खोज्दछु र खुसी हुने गर्दछु । निरन्तरता नै सफलता र खुसीका स्रोत हुन जस्तो लाग्छ ।

उतारचढाव स्वभाविकता

साहित्यमा लगाव राख्ने उहाँ उतार चढाव यात्राका दौरान स्वभाविक भएको बताउनुहुन्छ । व्यावसायिक रुपमा अत्याधिक सफल व्यवसायी होइन भन्नुहुन्छ । ‘व्यावसायिकता भन्दा मानवियता प्राथमिकतामा राख्ने बानी छ । लेनदेनको कुरामा उदारवादी छु । विगत भन्दा वर्तमान धेरै सहज र सुलभ अवस्थामा भएको महसुस गरेको छु । यो सायद प्राविधिक क्षेत्रको देन हुनुपर्छ । प्रविधीले कार्यक्षेत्र मात्र होइन जीवनलाई पनि सहज बनाएको छ ।’

संघर्ष नै त गरेको जस्तो लाग्दैन । तर एकदम न्यून आयको अवस्थामा हाम्रो परिवारले समय गुजारेको छ । भाडाको बसाइ, बिजुलीको सुविधा छिमेकीको निगाहमा थियो । पहिलो पटक रेडियो भित्रिएको थियो घरमा, छिमेकीले देख्लान भनेर बेलुकी पख लुकाएर ल्याइएको थियो । रेडियो बजाएको सुन्लान् भनेर आवाज एकदम सानो पारेर सबैजना रेडियोको नजिक झुम्मिएर बसेर सुन्थें । एकदिन छिमेकी थाहा पाएर चेतावनी दिनुका साथै महसुल वृद्धि समेत गरेको थियो ।

स्कुलको सम्झना, कामको थालनी यात्रा

उहाँ पढ्ने स्कुलमा कक्षा ४ सम्म नेपाल भाषामा पढाइ हुन्थो । हाइस्कूलमा पढ्दा स्कूलको झै–झगडामा लुगा उधारेर घर फर्कने गरेको उहाँ बताउनुहुन्छ । आफ्नो लागि भन्दा साथीहरुका लागि बेसि झगडा हुन्थ्यो । मेरो पढाइमा त्यति ध्यान थिएन । कलेजमा हुँदा विद्यार्थी राजनीतिमा पनि लागियो । विद्यार्थी युनियनमा एक कार्यकाल बसे ।’

आर्थिक अभाव र बाध्यताको कुरा गर्दा

बाल्यकालमा जे खान दियो खायो । जे लाउन दियो लायो । आफ्नो छ्नोटको कुनै अवस्था थिएन । २०३० सालतिर आफ्नै घरमा सरेको उहाँ बताउनुहुन्छ । पहिलो पटक पोलिस्टर कपडाको बेलबटम पाइन्ट, रांगुलर शर्ट र हाइहील जुत्ता आफ्नै कमाइले किनेर लगाएको याद छ । जीवनको मन्त्र दुनियाँमा बस्ने हो भने काम गर भन्ने हो ।

वि सं १९७१ मा रिलिज भएको हिन्दी सिनेमा हात्ती मेरे साथीको एउटा गीत छ ‘दुनियाँ में रहना है तो काम करो प्यारे’ भन्ने गीत ध्यान दिएर हेर्न र बुझ्नका लागि मेरा बुवाले सिनेमा हेर्न पैसा दिएर पठाउनु भएको याद छ । सिनेमा हेरेर आएपछी मैले मेरो साथीलाई भनेको थिएँ मेरो बाबाले मलाई काम गरेर खानु भन्नुभएको छ । तिमी काम गर्न जाने कारखानामा म पनि आउँछु भनेर काठ नक्कासी (धययम अबचखष्लन)को काम थालेको हो । त्यहि काम अहिलेसम्म पनि नियमित रुपमा गर्दैछु । त्यसैले संघर्षको त्यस्तो कुनै कथा छ, जस्तो लाग्दैन ।’

हस्तान्तरण गरेको व्यवसाय निरन्तर, अब साहित्यमै घोरिने मन

उच्च शिक्षामा ख्वबिको ध्यान गएन । उहाँ काममै व्यस्त हुनुभयो । ‘सपना आफ्नै पुस्तनी व्यवसायमा लाग्ने थियो । कार्भिङ काम छोडेर घरमा घुर्की लगाएर घरको फर्निचरमा काम थाले । यसैलाई समय परिस्थिती अनुसार बढुवा गर्दै अघि बढेको अवस्था छ । तर पनि विबिध विषयका पुस्तकहरु पढ्ने बानी अझै छ ।

नेपाली तथा हिन्दी उपन्यासहरु धेरै संख्यामा पढेको छु । मेरो वरिपरि छिमेकी टोलहरुमा मित्र पुस्तकालय,अमर पुस्तकालय र युवा पुस्तकालयहरु थिए । ती पुस्तकालयहरुबाट बाह्र सयको हाराहारीमा उपन्यास पढें जस्तो लाग्छ ।’

ख्वबिको अहिलेको व्यवसाय आफैले स्थापित गरेको होइन । यो हस्तान्तरित हो । समय अनुसार स्तरोन्नति गरिएको छ । निरन्तरताले लक्ष्यको बाटो हिँडन सजिलो बनाइदिएको छ । उहाँ पुस्तैनी व्यवसायमा पूर्णविरामको संभावना पनि उत्तिकै देख्नुहुन्छ । छोराहरु नयाँ क्षेत्रमा आकर्षित छन् । सीप हस्तान्तरणको प्रकृया अरु सिपमुलक व्यवसायहरुमा पनि व्याप्त छ । नेवारहरुले आफ्ना सिपमुलक व्यवसायलाई विस्थापित गरिदै गएको अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

जिवनमा संघर्ष स्वाभाविक कुरा हुन् तर कठोर संघर्ष गरियो जस्तो लाग्दैन । सामान्य संघर्ष गरियो । मेहनतले संघर्षको चापलाई मत्थर पारेको हुन्छ जस्तो लाग्छ । अबको सपना खासै छैन । साहित्यमा उपन्यास लेख्ने सोंच राखेको छु । एउटा अध्ययन कोठा बनाउने साेंच छ ।

अनि चारैतिरबाट किताबले घेरिएर बस्न मन छ । किताबसँगै गफिन मन छ । म यथार्थता मन पराउँछु । नियमितता र निरन्तरता मन पराउँछु । कुनै पनि काम गर्न म तयार छु । सक्दिन, मिल्दैन भनेर भन्दिन । प्रयासको अभ्यास गर्ने बानी छ । समय खाली छ भने त्यसको पनि उपयोग गर्ने कोसिस गर्छु ।’ उहाँ भन्नुहुन्छ,‘सन्तुष्टि र सफलता मेहनतको प्रतिफलको रुपमा प्राप्त हुने कुरा हो ।

जब हामी कुनै मेहनत गर्दैनौं । तब सफलता र संतुष्टिको कुनै अस्तित्वको संभावना नै रहँदैन । जीवनमा सफलता र संतुष्टिले अहंम भुमिका खेलिरहेको हुन्छ । जीवन केवल वैयक्तिक कुरा होइन यसलाई सामाजिक बनाउनु पर्छ । हरेक जीवनले बच्न र बाँच्न देऊ त्यो माध्यम हो जसले हाम्रो समाज र देशलाई प्रगतिको बाटोमा अग्रसर गराउँछ ।

जीवनलाई सहज अथवा गाह्रो हामी आफैंले बनाउने हो । जीवन सुन्दर र शान्तिपूर्ण बनाउन समभाव आवश्यक छ ।’