१८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आवद्ध १३ वटा भातृ संस्थाहरुले भोलि सरकारविरुद्ध संयुक्त जनप्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरुले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
विज्ञप्तिमा जनप्रदर्शनमा सबैलाई सहभागी हुन अपिल गरिएकोछ । प्रधानमन्त्री ओलीले हठात् रुपमा प्रतिनिधिसभा विघटन गरी संविधानको धज्जी उडाएको भन्दै भातृ संस्थाहरुले सशक्त आन्दोलन गर्ने जनाएका हुुन् । जनप्रदर्शन देशका ७७ वटै जिल्लामा एकैपटक गर्ने तयारी भएको छ ।
ओलीको गैरसंवैधानिक कदम सच्याउन प्रतिनिधिसभा पुनस्थापना गरी भ्रष्टाचार कुशासनलगायत सर्वसत्तावादीलाई परास्त गर्न सबै नेपाली सडकमा ओर्लन आह्वान गर्दछौं – विज्ञप्तिमा भनिएको छ । यसरी विज्ञप्ति जारी गर्नेमा नेपाल महिला संघ,तरुण दल, नेवि संघ, नेपाल तामाङ संघ,नेपाल किसान संघ, नेपाल दलित संघ,नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ,नेपाल लोकतान्त्रिक अपाङ्ग संघ,नेपाल मुस्लिम संघ,नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज रहेकाछन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देश आन्दोलनमय भएको छ ।












