१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले अबको आन्दोलनले प्रधानमन्त्री केपी ओलीको सातोपुत्लो उड्ने टिप्पणी गरेको छ । आज बसेको सचिवालय बैठकले ओलीको सम्भावित कदमलाई ध्यानमा राखी थप कार्यक्रम तय गर्नुपर्ने निश्कर्षसमेत निकालेको एक नेताले बताए ।
संविधानको मर्म र भावनामाथि खेलवाड भएको ठहर गर्दै बैठकले सर्वाेच्च अदालतले संसद् पुनस्थापना गर्ने विश्वास गरेको पनि ती नेताले बताए । तर संसद् पुनस्थापना भएपछि ओलीले संकटकाल लगाएर अनिष्ट निम्त्याउन सक्नेतर्फ सचेत रहनुपर्ने पक्षमा नेताहरुले खबरदारी गरेका छन् ।

बजारमा चलेकै हल्ला अनुसार ओलीले संकटकाल लगाउन सक्ने भन्दै आफूहरु त्यसको प्रतिकार कसरी गर्ने भन्नेमा थप गृहकार्य गरिरहेको जानकारी उनले दिए । यसैक्रममा अब माघ २२ गते युवा ¥याली निकालिने कार्यक्रम तय गरिएको उनले बताए ।

उक्त ¥याली वडा तहमा प्रदर्शन गरिने जानकारी उनले दिए । साथै, मजदूर र विद्यार्थीलाई समेत प्रदर्शनीमा उतारिने कार्यक्रम तय भएको छ । त्यसपछि माघ २८ गते देशै हल्लिने गरी जनप्रदर्शन गर्ने तयारी यो समूहले गरेको छ । उता, प्रधानमन्त्री केपी ओली पक्षले पनि माघ २३ गते जनप्रदर्शनी गर्ने कार्यक्रम तय गरेको छ ।









