बसमा आगलागी हुँदा ५३ को मृत्यु

१४ माघ, याउन्डे। यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।

“दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,” स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भन्नुभयो ।

स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो ।देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।

[sidebar name="button post"]