१४ माघ, सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा आज कोरोनाविरुद्धको खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुशी देखिनुहुन्थ्यो । कोरोना महामारी आउँदा अग्रपङ्क्तिमा रहेर काम गरेको अनुभव लिनुभएकी ढकालले कोरोना खोप आउँदा आफू खुशी रहेको प्रतिक्रिया दिनुभयो । “कोरोनाको महामारीका बेला नडराएका हामीले खोप लगाउन पाउँदा डराउनुपर्ने कारण छैन”, उहाँले भन्नुभयो, “निवासबाट अस्पताल आउँनै लाग्दा छोरीले यो खोप आमाछोरीसँगै लागाऔँ, मरे पनि सँगै मरौँला भनिरहँदा आफूले सम्झाउँदा उनी सहमत भइन् ।”
क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थीले नेपाल सरकारले यति छिटो कोरोनाविरुद्धको खोप भित्र्याई खोप अभियान शुरु गरेर राम्रो काम गरेको बताउनुभयो । उहाँले थप्नुभयो, “कतिपय विकासित देशले अझै कोरोनाविरुद्धको खोप अभियान शुरु गर्न सकेका छैनन्, नेपालमा यो अभियान शुरु हुन सक्नु उत्कृष्ट काम भएको छ ।”
सेती प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा डा अवस्थीले पहिलो खोप लगाई सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट देशका सबै प्रदेशमा एकसाथ खोप अभियानको शुभारम्भ गरिरहनुभएको दृश्यतर्फ उपस्थित स्वास्थ्यकर्मी र अस्पतलमा उपचारका लागि पुगेका बिरामीले चासोका साथ हेरेका थिए ।
प्रदेशस्तरीय खोप अभियानको शुभारम्भ गर्नुहँुदै मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाविरुद्धको खोप आए तापनि यो रोगको जोखिमबाट सुरक्षित हुन अपनाउनुपर्ने सजगतामा अझै ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले अपनाउनुपर्ने सजकता र स्वास्थ्य मापदण्डहरु कायमै राख्न आवश्यक छ ।” सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्टलगायत सहभागी हुनुहुन्थ्यो ।
खोप अभियान शुरु भएसँगै कोरोना महामारीको बेला अग्रपङक्तिमा रहेर जिम्मेवारी बहन गरेका स्वास्थ्यकर्मी खुशी देखिँदा कतिपय महिला स्वयम्सेविकाहरु भने डराइरहेको देखिन्थे । “खोप लगाउँदा स्वास्थ्यमा हुन सक्ने जोखिमबाट कतिपय डराएका छन्, महिला स्वास्थ्य स्वयम्सेविका यशोदा भण्डारीले भन्नुभयो, “आफू पनि खोप लगाउने कि नलगाउने भन्नेमा अन्यौलमै छु ।”
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन र नेपालको स्वास्थ्य सेवा विभागले स्वीकृत गरिसकेको यो ‘कोभिशिल्ड’ खोप ढुक्क भएर लगाउँन सकिने बताउनु हुन्छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम टरेको छैन । तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालानमा पछिल्ला महिनामा सर्वसाधरणबाट भइरहेको कमीकमजोरीले कोरोना सङ्क्रमणको जोखिम नहटेको चिकित्सकले बताउनुभएको छ ।
समाजिक विकास मन्त्रालयले प्रदेशको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, डडेलधुरा अस्पताल र सम्पूर्ण जिल्ला अस्पतालवाट प्रदान गर्ने गरी दश वटा खोप केन्द्रको व्यवस्था गरिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशका लागि पहिलो चरणमा खोप लगाउन ३६ हजार खोपको मात्रा प्राप्त भएको छ । पहिलो चरणमा कोभिड—१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइने भएको छ । खोपबाट हुन सक्ने सम्भावित असरको व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा चिकित्सकसहितको टोलीको व्यवस्था गरिएको छ ।
प्रदेशमा कोरोना भाइरसबाट आजसम्म १३ हजार ९५६ जना सङ्क्रमित पुग्दा यो रोगविरुद्धको खोप अभियान शुरु गरिएको छ । मन्त्रालयका अनुसार आजसम्म कोरोना भाइरसका शङ्कास्पद एक लाख ३५ हजार २८४ को नमूना परीक्षण भइसकेको छ भने १२ हजार ५७८ सङ्क्रमित उपचार व्यवस्थानपछि घर फर्किनुभएको छ । प्रदेशमा अहिलेसम्म ५५ जना सङ्क्रमितको मृत्यु भएको छ । होम आइसोलेशन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । प्रदेशमा कोरोना सङ्क्रमणका शङ्कास्पद नमूना सङ्कलनमा कमी आउँदा सङ्क्रमित बिरामी घट्दै गएका छन् ।
लक्षण देखिएको व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ ।











