डोटीमा फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जनालाई खोप

१४ माघ, डोटी । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको छ । सुदूरपश्चिम प्रदेशभरिमा आज ११ बजेबाट उक्त अभियान शुरु भएको हो । भारत सरकारको सहयोगमा ल्याइएको सो खोप पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डोटीका फ्रन्ट लाइनमा काम गर्ने एक हजार ५२६ जना स्वास्थ्यकर्मी, कर्मचारीलगायतकालाई लगाउने योजनानुसार शुभारम्भ गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरणको खोप जिल्ला अस्पतालमा स्थानीय तहअनुसार पालैपालो लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । कम्तीमा पनि छ दिनभित्र पहिलो चरणको खोप लागाइसकिने योजना रहेको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार प्रदेशका नौवटै जिल्लाका लागि कूल १६ हजार २९३ जनालाई पुग्ने ३६ हजार डोज खोप ल्याइएको बताइएको छ । पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई निःशुल्करूपमा खोप लगाइनेछ । शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी र १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइने छैन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार पहिलो दिन स्वास्थ्य कार्यालयमा कार्यरत २३, जिल्ला अस्पतालमा कार्यरत ७५, प्रहरी अस्पताल दिपायलमा कार्यरत ३५, सुजङ्ग अस्पताल राजपुर, शैलेश्वरी अस्पताल पिपल्लालगायत अन्य निजी अस्पताल कार्यरत ९८ गरी २३१ जनालाई खोप लगाइनेछ । १५ देखि १९ गतेसम्म सबै पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई क्रमशः खोप लगाइनेछ ।

[sidebar name="button post"]