७ माघ, एजेन्सी । राष्ट्रपति डोनल्ड ट्रम्पको विरासतलाई उल्टाउन चाहिरहेका जो बाइडनले कार्यभार सम्हाल्नासाथ थुप्रै कार्यकारी आदेश जारी गर्ने उनको टोलीले जनाएको छ।
बाइडनले पदभार सम्हालेपछि अमेरिका जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पुनः फर्किनेछ भने बाइडनले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने काम रोक्ने भएको छ ।
युरोपेली संघले अमेरिकामा जो बाइडनले सुरु गर्न लागेको कार्यकालको स्वागत गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेयर लायनले त्यसलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानी भनेकी छन्।
उनले भनिन्, माननीय सदस्यहरू१ यो दिनले एउटा सुखद समाचार ल्याएको छ। संयुक्त राज्य अमेरिका पहिलाको अवस्थामा फर्केको छ र हाम्रो पुरानो एवम् विश्वासिलो साझेदारसँग फेरि जोडिनका लागि युरोपेली सङ्घ तम्तयार छ।
युरोपेली आयोगकी प्रमुखले कोरोना भाइरसमहामारीविरुद्ध लड्न वैश्विक साझेदारी आवश्यक रहेकोमा जोड दिँदै जलवायु परिवर्तनसँग जुझ्नका निम्ति गरिएको प्यारिस सम्झौतामा फर्कने बाइडनको निर्णयको प्रशंसा गरिन्। बाइडनले पदभार सम्हाल्न लागेको खबरले ठूलो राहतको अनुभूति गरेको जर्मन राष्ट्रपतिले प्रतिक्रिया दिएका छन्। कार्यभार सकिन लागेका राष्ट्रपति डोनल्ड ट्रम्प प्रथम महिला मेलानियासँगै ह्वाइट हाउसबाट केहीबेरअघि बाहिरिएका छन्।












