एजेन्सी। इन्डोनेशियाको एउटा गुफामा पुरातत्त्वविद्हरूले झन्डै ४५,००० वर्ष पुरानो एउटा भित्तेचित्र फेला पारेका छन्। उनीहरूले जङ्गली सुँगुरको उक्त चित्र अहिलेसम्म भेटिएका त्यस्ता कलाकृतिमा सबैभन्दा पुरानो भएको बताएका छन्।
गाढा रातो गेरु रङ्ग प्रयोग गरी कोरिएको चित्र सुलावेसी द्वीपको एउटा दुर्गम उपत्यका अवस्थित लिएङ टेडोङ्गे गुफामा छ। उक्त चित्रले सो क्षेत्रमा मानिसहरूको पुरानो बसोबास रहेको प्रमाण उपलब्ध गराएको छ।
“यो चित्र जसले कोरे ती पूर्ण रूपमा आधुनिक थिए। उनीहरू हामीजस्तै थिए। उनीहरूसँग आफूले चाहेको जुनसुकै प्रकारको चित्र बनाउने क्षमता र साधन थियो,” साइन्स एड्भान्सेस जर्नलमा प्रकाशित शोधका सहलेखक म्याक्सिम औबर्टले भने।
कसरी पत्ता लाग्यो समय?
औबर्टले गुफामा चित्रमाथि क्याल्साइट अर्थात् चुन जमेको पत्ता लगाएपछि यूरेनीअम-सिरीज आइसटोप विधि प्रयोग गरेर चुन कति अघि जमेको थियो त्यो निर्क्योल गरेका थिए।
त्यसबाट उक्त चित्र कम्तीमा ४५,००० वर्ष पुरानो भएको निश्चित भएको छ। “तर यो चित्र त्योभन्दा धेरै पुरानो हुनसक्छ किनभने हामीले प्रयोग गरेको समय निर्धारण गर्ने विधिले चित्रमाथि भएको चुनको समय मात्र पत्ता लाग्छ,” उनले भने।
यो चित्रको विशेषता?
चौडाइ ५३ इन्च र लम्बाइ २१ इन्च रहेको उक्त चित्रमा देखिएको जीवको अनुहारमा सिङजस्तै गाँठाहरू छन्। त्यस्ता अवयव उक्त प्रजातिको जङ्गली सुँगुरको भालेका विशेषता हुन्।
सुँगुरको चित्रपछाडि हत्केलाका दुईवटा छाप छन् जुन अन्य दुई सुँगुरतिर फर्केको देखिन्छ। तर ती सुँगुरका चित्र भने आंशिक रूपमा मात्र सुरक्षित छन्।
यो चित्र विश्वकै सबैभन्दा पुरानो आकृति देखिएको तस्बिर भए पनि सबैभन्दा पुरानो मानवनिर्मित चित्र भने होइन। अर्का शोधकर्ता एडम ब्रमले भने, “उक्त सुँगुर अन्य दुई सुँगुरले जुधेको वा अन्तर्क्रिया गरेको हेरिरहे जस्तो देखिन्छ।”
हत्केलाको छाप बनाउन कलाकारले पहिला भित्तामा आफ्नो हात राखेको र त्यसपछि रङ्ग थुकेर छ्यापेको हुनुपर्ने शोधकर्ताहरूले बताएका छन्। उनीहरू थुकको अवशेषमा प्राचीन चित्रकारको डीएनएनको नमुना सङ्कलन भेटिने आशामा छन्।











