कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिको दशैं तयारी : ‘यो दशैंमा जिउ जोगाउँ, अर्को वर्ष धुमधामले मनाउँला’

समिता श्रेष्ठ

दशैं घरआँगनमा भित्रिसकेको छ । शहरबाट महान चाड दशैं मनाउन गाउँ जानेहरुको लर्को छ ।  दशैंको टिकाकै दिनसम्म पनि आर्शिवाद थाप्न जानेक्रम चलिरहन्छ । यसपाली दशैँ विगतका जस्तो छैन र हुँदैन पनि । कोरोना महामारीका कारण चहलपहल कम छ । लामो समयको लकडाउनले घरभित्रै थुनिएका नागरिक दशैं खर्च कसरी जुटाउने झन् समस्यामा छन् । त्यसमाथी कोरोना संक्रमण थप बढ्दै बढ्दै गएको छ ।

काठमाण्डौमा कोरोना संक्रमण तिव्र गतिमा र दशैंको चहलपहल पनि केहि बढिरहेका बेला कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले दशैंलाई सभ्य र सुरक्षित रुपमा मनाउन आग्रह गरेका छन् । ‘विगतका वर्षको तुलनामा यसपालीका दशैं, तिहार जस्ता चाडपर्वमा निक्कै फरक अवस्था सिर्जना भएको छ’ नगरपालिकाका मेयर कृष्णहरि थापा भन्नुहुन्छ,‘कोरोना महामारीलाई वडाबासी आम नागरिकले सुरक्षा सावधानी अपनाउनुपर्नेछ ।

’ उहाँले टिका जमरा ग्रहण गर्दा पनि भौतिक दुरी र सकेसम्म घरपरिवारमा मात्रै पर्व मनाउन आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ,‘अहिले दशैंको अवसरमा आफू पनि अरुकोमा नजाउँ अरुलाई पनि आफू कहाँ नबोलाउँ । दशै साधारण तरिकाले मनाउँ, आर्शिवाद सामाजिक सञ्जालबाट लिउँ । हामी पनि कहिँ जाँदैनौ, अरुलाई पनि आउन रोक लगाउँ । नगरपालिकाको नीति पनि यहि नै हो ।’ नगरपालिकाको नीति अनुसारै आफूले पनि साधारण तरीकाले दशैं मनाउने तयारी गरेको मेयर थापाले बताउनुभयो । ‘बाहिर जाने कुनै योजना छैन । सम्पुर्ण नगरबासीलाई पनि सुरक्षित भएर घरमै बसेर दशैं मनाउन अनुरोध गर्न चाहन्छु ।’

वडा नम्बर १ का वडाअध्यक्ष मुकुन्दप्रसाद गजुरेल पनि पारीवारिक जमघटमै दशैं मनाउने योजनामा हुनुहुन्छ । ‘दशै बर्षैनी आउने पर्व हो । तर यो पर्व बिगतको भन्दा अलि फरक तरिकाले मनाउनुपर्ने बाध्यता छ । गत साल जस्तै हाँसेर शुभकामना दिन समेत सकिएको छैन, सबैलाई कोरोनाको डर छ, तनाव छ ।

यहि डर र तनावकै बिच पनि परिवारमा बसेर मनाउनुपर्छ ।’ चाडपर्व पारीवारिक जमघटमा मात्रै सिमित गर्नुहोला, कोरोनाको संक्रमणबाट सुरक्षित रहनुहोला भन्दै सम्पुर्ण नगरबासी र वडाबासी आमाबुवा, दिदीबहिनी, दाजुभाईहरुलाई विजयादशमी र दिपावलीको शुभकामना दिन चाहन्छु । साथै घरभित्रै बसेर दशैं मनाउनुहोला । जिउ रहे घिउ भन्ने बुढापाकाको भनाई छ । यो वर्षको दशैंमा जिउ जोगाउन सके अर्को वर्ष धुमधामले दशैं मनाउँला ।’

यसवर्ष भौतिक दूरी र स्वास्थ्य मापदण्डको पालना गरी चाडपर्व मनाउनुपर्ने अवस्था छ । मठमन्दिर र शक्तिपिठहरुमा पनि कुनै चहलपहल छैन । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष राममनी पुडासैनी तथा वडा ५ का अध्यक्ष राजाराम पुडासैनीले पनि घरभित्रै बसेर दशैं मनाउने योजना रहेको बताउनुहुन्छ । उहाँहरुको पनि नगरवासीलाई आग्रह छ,‘महामारीबाट जोगिएर, अरुलाई संक्रमण हुनबाट जोगाएर, घरभित्रै बसेर, भिडभाड नगरी दशैं मनाउनुहोला ।’

यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयालले पनि सम्पुर्ण नागरिकलाई आफ्नो गच्छे अनुसार दशैं मनाउन र कोरोनाबाट सुरक्षित रहन आग्रह गर्नुभएको छ । आफ्नो स्वास्थलाई ख्यालमा राखेर कोरोना महामारीको यो बेला सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको कार्यान्वयन गरी सामान्य रुपमा दशैं मनाउने योजना रहेको उहाँले बताउनुभयो ।

वडा ७ का वडाअध्यक्ष जिवन थापा भन्नुहुन्छ,‘कोभिडको संक्रमण दिनानुदिन बढिरहेको छ । यसकारण सबैजना वडाबासीले आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित राख्न जहाँ हुनुहुन्छ,त्यही बसेर भौतिक दुरि कायम गरि दशैं मनाउपर्छ ।’ असत्य माथी सत्यको जित भएको दिन हिन्दुहरुको विशेष पर्व दशैं लगाएत त्यसपछि आउँदै गरेका तिहार, छठ, नेपाल संम्वत्, उभौली उधौलीको अवसरमा उहाँले शुभकामना दिदै सुख, शान्ती, समृद्धिको कामना गर्नुभएको छ ।

‘कागेश्वरी नगरपालिकामा कोरोना बढ्दैछ । आवश्यक परेमा जनप्रतिनिधिको आधारमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न लाग्नेछु’ उहाँले भन्नुभयो,‘दशै खुशियाली पुर्वक मनाउने पर्व हो तर यसपाली खुशी छैन । जे जस्तो भए पनि घर परिवारसंग मात्रै बसेर कतै नगएर मनाउने मेरो सोंच छ ।’ उहाँले सुरक्षित भएर प्रसाद लगाएर दशै मनाउन वडा बासीलाई अपिल गर्नुभएको छ ।

त्यस्तै वडा नम्बर ९ का वडाअध्यक्ष कुन्दन खड्का पनि पहिलाको जस्तो दशैं रमाइलो नहुँने बताउहुुन्छ । साथै यसपालि घर परिवारसँग मात्रै बसेर दशैं मनाउने तयारी भैरहेको बताउनुभयो । दिनप्रतिदिन बढ्दै गएको कोरोना महामारीलाई ख्यालमा राखेर घरमै बसेर सुरक्षित रुपमा चाडपर्व मनाउन उहाँको अनुरोध छ ।

[sidebar name="button post"]