काठमाडौं तेक्वान्दो संघको अध्यक्षको जिम्मेवारी अशोक खड्कालाई

काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षको जिम्मेवारी तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले पाउनु भएको छ । जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

निवर्तमान अध्यक्ष पराजुलीले तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, कार्यसमितिका पदाधिकारी र तेक्वान्दो डोजाङका प्रमुखलगायतको उपस्थितिमा भएको कार्यक्रममा खड्कालाई कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरिएको हो ।
तेक्वान्दोका अग्रजको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने बताउदै कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता अध्यक्ष खड्काले दिनुभयो ।

खेलाडीका रुपमा उँहाले १९ अन्तर्राष्ट्रिय स्वर्ण भएको जित्नु छ भने केयौं पटक उत्कृष्ट निर्णायक पनि चुनिनु भएको छ । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधाका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुनुहुन्छ ।

खड्काले २०५० सालदेखि तेक्वान्दो खेल्न सुरु गर्नु भएको थियो । सन् २००९ मा प्रतियोगिता खेल्ने क्रममा उँहाको खुट्टामा गम्भीर चोट लागे पछि करिब २ वर्ष खेल यात्रामा ‘ब्रेक’ लागेको थियो । चोटमुक्त भएपछि पनि ग्योरोगी (फाइट) विधालाई उँहाले त्यागी पुम्से विधामा आफ्नो खेल यात्रालाई सुचारु गर्नुभयो ।

हाल उँहा प्रशिक्षक र निर्णायकका रुपमा बढी व्यस्त हुनहुन्छ । खड्काले डाँछीमा नेप्लिज तेक्वान्दो एकेडेमी पनि सञ्चालन गर्दै आउनुभएको छ । यस एकेडेमीमा उँहाले आर्थिक अवस्था कमजोर भएका १५ जनालाई निःशुल्क प्रशिक्षण गराउदै आउनुभएको छ ।