नवौँ राष्ट्रिय खेलकुदः आर्चरीमा फाइनल समीकरण पूरा

पोखरा: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा फाइनल खेलको समीकरण पूरा भएको छ ।

आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो । कम्पाउण्ड मेन सिङ्गलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुग्नुभएको छ ।

जागृतले सुदूरपश्चिमका सुरेश गुरुङलाई एक सय ३६ का विरुद्ध एक सय ४४ स्कोरले हराउनुभएको हो । फाइनलमा गण्डकीकै दुई खेलाडी हुनुभएपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ । यस्तै गण्डकीका ख्यामले एपिएफएका रमेश भट्टचनलाई १४१–१३५ स्कोरमा पराजित गर्दै जागृतसँगको भेट पक्का गर्नुभएको हो ।

कम्पाउण्ड वुमन सिङ्गलतर्फ एपिएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुग्नुभएको छ । पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४–१०९ स्कोरले हराउनुभयो । यस्तै इमायुङले एपिएफकी निर्मला कानवाङ राईलाई १३०–१२२ स्कोरले पछि पार्नुभयो । रिकर्भ मेन सिङ्गलतर्फ गण्डकीका गङ्गाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुग्नुभएको छ । गङ्गाले एपिएफका विराट थापालाई ६–४ अङ्कले हराउनुभएको हो ।

यस्तै तिलकले गण्डकीका असिम शेरचनलाई ६–४ अङ्कले पराजित गर्दै फाइनलमा स्थान गएका छन् । रिकर्भ वुमन सिङ्गलतर्फ गण्डकीकी रोजिना थापामगरले आर्मीकी ज्ञानु अवालेलाई ६–४ स्कोरले हराए । यस्तै आर्मीकी मञ्जु बजगाईँले गण्डकीका रश्मी दर्लामीलाई सोझो तीन सेटमा ९६–०० पराजित गरेका छन् । स्टान्डर्ड मेन टिमतर्फ गण्डकी र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदा वुमन टिमतर्फ प्रदेश नं १ र आर्मी खेल्नेछ ।

मेन टिमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं १ लाई ५–१ अङ्कले हराएको हो । यस्तै अर्को खेलमा सुदूरपश्चिमले नेपाल पुलिसलाई ६–४ अङ्कले हराउँदै फाइनल पुगेको हो । स्टान्डर्ड वुमन टिमतर्फ प्रदेश नं १ ले गण्डकी प्रदेशलाई ६–० अङ्कले सोझो तीन सेटमा हरायो । यस्तै आर्मीले पनि एपिएफलाई सोझो तीन सेट ९६–००ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो ।

राष्ट्रिय खेलकुदमा पाँचौँ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा योपटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ । खेलमा पाँच प्रदेश, तीन विभागीय र एनआरएनए गरी नौ टिमको सहभागिता रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेस र कर्णालीको भने सहभागिता रहेन ।

[sidebar name="button post"]