आगामी चैतमा काठमाडौंमा मेयर कप पुरुष क्रिकेट हुने

२० माघ, काठमाडौं । काठमाडौंमा पहिलो संस्करणको मेयर कप पुरुष क्रिकेट हुने भएको छ । नेपाल क्रिकेट संघ ‘क्यान’ले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यानले आगामी चैतको मसान्त भित्र प्रतियोगिता आयोजना गर्नेछ ।

यस्तै प्रतियोगिताको लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराउने छ । प्रतियोगिता कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य तथा क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो ।