१५ पुस, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारबाट मौसममा सुधार आउने आँकलन गरेको जनाएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो ।
आजबाट क्रमश: यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आँकलन महाशाखाका मौसमविद्ले गरेका हुन् । यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
बिहान देशभर आंशिक छ भने थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
शुक्रबार गण्डकी र प्रदेश १ एक वा दुई स्थानमा हल्का वर्षा र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।











