Ad #144479

१५ असोज, काठमाण्डौ। जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घन्टामा देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ।

भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ।