देशभर सामान्य बदली, आज यी स्थानमा भारी वर्षाको सम्भावना

१५ भदौ, काठमाण्डौ। विगत केही दिनदेखि सक्रिय रहेको मनसुन केही कमजोर हुँदै गएको छ । आज देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्य बदली रही प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनी वायुको प्रभावका कारण आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।