मौसम पूर्वानुमान : लुम्बिनी र सुदूपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

३ भदौ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ । बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ । अहिले वाग्मती र गण्डकी प्रदेशका केही भू-भागमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।