३१ श्रावण, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि सक्रिय हुँदा देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आज मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । हाल प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली भएको छ।
आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै राति पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।












