देशभर बदली, धेरै स्थानमा वर्षा हुने

२७ श्रावण, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

मनसुनी न्यून चापिय रेखा तराई भू–भाग नजिक रहेकाले मनसुन पुनः सक्रिय भएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

भोलिदेखि भने मनसुन थप सक्रिय हुने भएकाले धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।