देशभर बदली, प्रदेश-२ बाहेक सबै प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

१९ श्रावण, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्य बदली भइ वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती , गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।