आजको मौसम : प्रदेश-२ र कर्णाली बाहेकका प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

१६ श्रावण, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शनिबार सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।