आजको मौसम : चार प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

१५ श्रावण, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। अहिले बिहान देशभरको मौसम सामान्य बदलीको अवस्थामा रहेको छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।