१७ असार, काठमाण्डौ। मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । आज देशका धेरै भूभागमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको र देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले भारी वर्षा हुने जनाएको हो ।
प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा भईरहेको छ। बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।











