३१ जेष्ठ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन देशभर नै फैलिएको जनाएको छ । आइतबार बेलुकादेखि देशभर नै मनसुन फैलिएको महाशाखाले जनाएको छ ।
यो हप्ता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। बाढी तथा पहिरो आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेका छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।
सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
त्यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।











