३० वैशाख, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आज सामान्यतया बदली हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।
देशका अधिकांश भू–भागमा अहिले सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै राति प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ। प्रदेश १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।









