३ वैशाख, काठमाण्डौ। आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्धारा जारी बुलेटिनमा प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने उल्लेख छ ।
महाशाखाले प्रिमनसुन आज र भोलि पनि एक्टिभ नै हुने भएकाले यसको प्रभावले अपराह्नपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र हल्का वर्षा हुने जनाएको छ । यसको बढी प्रभाव प्रदेश १ र ७ मा देखिने छ । बाँकी प्रदेशका पनि पहाडी भागहरु प्रभावित हुने छ ।
मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन अवधि मानिन्छ । यो अवधिमा स्थानीयस्तरमा बादल विकसित भइ गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने र हल्कादेखि मध्यमखालको पानी पर्ने गर्दछ ।
यस्तो क्षणिक अवस्था मनसुनी वायु प्रवेश नगरेसम्म जारी रहन्छ । हावा हुरी र चट्याङले मानवीय क्षतिसमेत पुर्याउन सक्ने भएकाले सतर्क रहन र त्यसबाट जोगिने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमार्फत् आग्रह गरेको छ ।
बिहीबार बेलुकीपख काठमाण्डौ उपत्यकासहितका केही जिल्लाहरुमा पनि हावाहुरी चलेको थियो । चट्याङसमेत पर्दा भोजपुर, बागलुङ र स्याङ्जामा एक-एक जना गरी तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ । बिहीबार बेलुकी अन्य प्रदेशको तुलनामा प्रदेश १ मा बढी पानी परेको विभागले जनाएको छ ।












