२८ चैत्र, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाको दैनिकी मौसमी बुलेटिन अनुसार शनिबार प्रदेश नं १ लगायत देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहने सम्भावना छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
यसैबीच, शुक्रबार साँझ हावाहुरीसहितको हल्का बर्षाले विगत केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशभरको वायु प्रदूषणको मात्रा केही कम हुने अनुमान गरिएको छ ।












