२६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षका विद्यार्थी संगठन ‘अनेरास्ववियु’ले प्रदर्शन गरेको छ ।
आइतबार काठमाडौंको माइतीघरमा विद्यार्थीहरुले ओलीलाई गणतन्त्र विरोधीको संज्ञना दिँदै उनको विरोधमा बयलगाडा प्रदर्शन गरेका हुन् भने सो क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा प्रहरी र विद्यार्थीहरुबीच घम्साघम्सी भएको थियो ।
जनआन्दोलनका बेला ओलीले ‘गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो’ भनेका थिए । सोही अभिव्यक्तिको व्याङ्ग्य गर्न अनेरास्ववियूले आइतबार राजधानीसहित देशका विभिन्न स्थानमा बयलगाडा प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले लगातार आन्दोलन गरिरहेको छ । माइतीघरमा बयलगाडा प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले मर्ने बेलामा कमिलाको प्वाख पलाएजस्तै ओलीले पनि सत्ताच्युत हुनेबेलामा संसद विघटन गरेर सत्ता टिकाउन खोजेपनि त्यो सम्भव नहुने बताए ।









