२० पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पत्नी सीताको उपचारका लागि भारतको मुम्बई उडेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विकसित राजनीतिक घटनाक्रम पेचिलो छ, तर पत्नीको आग्रहमा उनी उपचारका लागि मुम्बई उडेका हुन् ।
उनको अनुपस्थितिमा पार्टीले सरकारविरोधी आन्दोलन चर्काउने निर्णयलाई अझै तीब्रता देला नै । तर प्रचण्डको भारत भ्रमण राजनीतिक रुपमा जोडिएला त ? धेरैले जिज्ञाशा राखेका छन् । प्रचण्ड निकट स्रोतले यो भ्रमण विशुद्ध रुपमा स्वास्थ उपचारसँग जोडिएको भनेपनि भारतीय नेताहरुसँग भेटघाट हुन सक्ने औंल्याएका छन् ।
आज मुम्बई पुगेर पत्नीको उपचारका लागि व्यवस्था गरेपछि भोलि नै प्रचण्ड नयाँ दिल्ली जाने तयारी रहेको स्रोतले बताएको छ । दिल्ली बसाईका क्रममा प्रचण्डले भारतीय नेताहरुसँग भेटघाट गर्ने बताइएकोछ । तर प्रचण्ड निकट स्रोत भने स्वीकार्न तयार छैन । प्रचण्ड वुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।












