Ad #144479

२० पुष, काठमाडौं । नेपाल प्रहरीमा सरुवा र बढुवाको रन्को शुरु भएको छ । जिल्ला प्रमुखका रुपमा केही एसपीहरुको एक बर्षे अवधि पुगेकाले यसै साता सरुवा गर्ने तयारीमा प्रहरी मुख्यालय पुगेको छ भने एसएसपी र एसपीको बढुवा तयारी पनि भईरहेको छ ।

त्यसैले बढुवाका आकांक्षीहरु विभिन्न शक्तिकेन्द्रको फेरो लगाउने क्रम पनि तीव्र रुपमा चलेको छ । गत पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’लाई प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’ मा बढुवा सिफारिस गरेको थियो । एक सातासम्म कुनै उजुरी नपरेपछि डीआईजी बढुवा आजबाट पूर्ण भएको छ ।

डीआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षकहरुलाई एसएसपीमा बढुवा सिफारिस गर्ने तयारी प्रहरी मुख्यालयको छ । तर आगामी पुष २९ गते दुईजना एसएसपीले ३० बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएपछि मात्र बढुवा प्रक्रिया शुरु गर्ने जानकारी मुख्यालय स्रोतले दिएको छ । त्यसपछि ११ एसएसपी पद रिक्त हुनेछ ।

प्रहरी मुख्यालयका अनुसार डा. गणेश रेग्मी र राजकुमार बैदवार ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन् । उनीहरु ०४७ माघमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

त्यस्तै डीएसपीबाट एसपीमा बढुवा हुनेहरुको पनि ताँती लागेको छ । १५ जना एसपीको पद खाली हुनेछ । जसमा ११ जना पुरानो टोलीका प्रतिस्पर्धीहरु लाइनमा उभिएका छन् ।