Ad #144479

१५ पुष, काठमाडौं । सत्तारुढ नेकपाको बहुमत पक्ष प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो । अब संसदीय दलको नेता भएसँगै शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । त्यसअघि अहिलेका मुख्यमन्त्री पौडेललाई अविश्वास प्रस्तावमार्फत पदबाट हटाउनु शाक्यको चुनौती हो ।

पुस १० गते बग्मती प्रदेशसभाका ४५ जना सांसद्ले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।  हिजो मात्रै मुख्यमन्त्री पौडेलले संसदीय दलको उपनेताबाट शालिग्राम जमकट्टेल र प्रमुख सचेतक बुुद्धिमान माझीलाई पदमुक्त गरेका थिए । आजको बैठकले पौडेलविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न अन्य राजनीतिक दलहरुसँगसमेत छलफल गर्ने निर्णय गरेको छ ।